यस्तो छ इजरायल जान सरकारले तोकेको मापदण्ड, अब हिब्रु भाषा जान्न नपर्ने

काठमाडौं, साउन २५ । नेपालीलाई फेरि रोजगारीका लागि इजरायल जाने बाटो खुलाएको सरकारले त्यसका लागि मापदण्ड पनि तोकेको छ । श्रम तथा रोजगार मन्त्रालयले तोकेको मापदण्ड अनुसार इजरायल जानका लागि कुने पनि महिला वा पुरुष ५ वर्ष पूरा भई ४५ वर्ष ननाघेको हुनु पर्ने १ दशमलव ५ मिटर उचाइ भएको हुनु पर्ने र शारीरिक तौल कम्तिमा ३८ केजी हुनु पर्ने छ ।

अव इजरायल जानेहरुले केयर गिभर सम्बन्धि तालिम पनि लिएको हुनु पर्ने प्रावधान सरकारले राखेको छ । त्यसका लागि मान्यताप्राप्त संस्थाबाट ३ महिना केयर गिभरसम्बन्धी तालिम लिनुपर्ने इन्टरमिडिएट लेवलको अंग्रेजी भाषा जान्नुपर्ने समेत मापदण्डमा ब्यवस्था गरिएको छ । सरकारले श्रीमान, श्रीमती, छोराछोरी र आफन्त इजरायलमा भए त्यस्ताहरुलाई इजरायल नपठाउने समेत तयारी गरेको छ । यस अघि हिब्रु भाषाको शर्त भएपनि अव इजरायल जान हिब्रु भाषा अनिवार्य हुनेछैन ।

गत शुक्रबार वैदेशिक रोजगार विभागका महानिर्देशक भरतराज सुवेदी र नेपालका लागि इजरायली राजदूत यारोन मेयरले शुक्रबार केयरगिभरका रुपमा इजरायलमा रोजगारी दिने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । इजरायलले यसअघि पनि नेपाली महिलाहरुलाई केयरगिभरको रुपमा आफ्नो मुलुकमा रोजगारी दिएकामा म्यानपावर व्यवसायीहरुले रोजगारीमा जानेहरुसँग अवैधरुपमा १० लाख रुपैयाँसम्म उठाएपछि इजरायलले पाँच वर्षअघि नेपाली कामदार लिन बन्द गरेको थियो । श्रम तथा रोजगार मन्त्रालयका अनुसार, इजरायलमा कियरगिभरको रुपमा काम गर्ने महिलाले मासिक एक लाखदेखि डेढ लाख रुपैयाँसम्म कमाउने छन् ।

Top