असारे झरीमा विकासे बजेटको बर्बाद !

आर्थिक वर्षको अन्त्यसँगै काठमाडौं उपत्यकालगायत देशभर ‘मिनी’ विकासको काम तीब्र रुपमा भईरहेको छ । चालू आर्थिक वर्षका लागि विनियोजित रकम लक्ष्यअनुसार खर्च भइनसकेको र सक्नैपर्ने कारण देखाउँदै अहिले आर्थिक वर्षको अन्तिममा आएर यसको खर्च धुमधामका साथ भइरहेको छ । त्यो पनि अर्थहीन रुपमा ! देशमा विकास निर्माणका कामका लागि छुट्याइएको आधा रकम पनि खर्च हुन नसक्ने अवस्था भएपछि त्यो त्यत्तिकै खेर जाने नेपाली मनस्थिति र व्यवहारले गाँज्दा अधिकांश पैसा विकासको नाममा त्यत्तिकै खेर गइरहेको छ । असारको १५ लाग्न थालेको छ । आर्थिक वर्षको अन्त्य हुन करिब १५ दिन मात्र बाँकी हुँदा विकासे बजेटले अहिले खुब काम पाइरहेको छ । विभिन्न शहरी क्षेत्रहरुको गल्लीगल्लीमा पसेको यो रकम त्यहाँबाट निस्कने छैन । त्यतिमात्र होइन त्यहाँ पसेको बजेटले उल्टै स्थानीयलाई दुःख दिईरहेको छ । हुन त यस वर्ष मनसुन अलि ढिला हुने भएर होला भरमूर वर्षा हुन सकेको छैन । यद्यपि काठमाडौंमा पानी नपरेको दिन पनि छैन । यस्तो अवस्थामा गल्ली पसेको बजेटले ओत लाग्ने ठाउँ नै पाएको छैन ।

घट्टेकुलोको एक सडक गल्लीमा ढल मर्मतको क्रममा खनिएको खाल्डोमा उत्तानो परेर पसेको मोटरसाईकल ।

घट्टेकुलोको एक सडक गल्लीमा ढल मर्मतको क्रममा खनिएको खाल्डोमा उत्तानो परेर पसेको मोटरसाईकल ।

Sadak Marmat ktm

मध्य वर्षाको समयमा मध्येबानेश्वरका प्रायः सबै गल्लीहरुमा यसरी सडक मर्मतको काम तीव्र गतिमा चलिरहेको छ ।

आर्थिक वर्षको अन्तिमसम्म जसरी पनि सक्नुपर्ने बजेट विशेषगरी शहरी क्षेत्रको सडकमा पसेको हो । त्यहाँ यतिखेर सडक निर्माणको काम धमाधम भइरहेको छ । स्तरोन्नतीको नाममा स्थानीयलाई दुःख पनि दिएकै छ । सवारी आवागमनमासमेत गंभीर अवरोध गरिरहेको छ । गल्लीको सडकसँगै ढल निकासको व्यवस्थाले त झन राजधानी नै कुरुप बनाएको हामी सबैले देखेकै छौँ । यसले मानिसहरुको दैनिक जीवनयापनमा समेत गंभीर समस्या थपिरहेको छ । जहाँतहीँ ढल निर्माणका क्रममा कतिपय टोल नै हप्तौँदेखि दुर्गन्धित बनिरहेको छ भने कतिपय टोलमा महिनौँदेखि सामान्य सवारी साधन आवतजावतसम्म गर्न पाएका छैनन् । कतिपयले आफ्नो सवारीसाधनलाई वासस्थानभन्दा टाढै छोडेर घर आउनुपर्ने र हराउने डरले चिन्तित बन्नु परिरहेको छ । एक ठाउँ होइन दुई ठाउँ होइन प्रायः सबै ठाउँमा यस्तो हुनुको पछाडी आखिर रहस्य के छ ?

हुन त जारी सडक विस्तारको कामले पनि त्यसमा केही प्रभाव पारेकै छ । तर बजेट सक्ने काम भने निकै लामो परम्परा हो हाम्रो । त्यसैलाई आधार बनाएर स्थानीय र सर्वसाधारणलाई दुःख दिने गरी यसरी कामको गति किन ढिलो गरिन्छ ? यसको अनुगमनकर्ता हो ? दुई दिनमा सकिने काम दुई महिनामा पनि सकिएको छैन । यसले गर्दा आम सर्वसाधारणहरु निकै ठूलो मारमा परेका छन् । फेरी त्यसरी गरिएको विकास निर्माण वा स्तरोन्नतीका कामले दीर्घकालीन रुपमा सहजता ल्याइदिए पनि त चित्त बुझाउने ठाउँ बन्थ्यो होला, तर आज सकिएको काम पर्सि बिग्रने गुणस्तरले त झन आक्रान्त छन् शहरी क्षेत्रका बासिन्दाहरु । यो सब हुनुमा विकासे बजेट र आर्थिक वर्षको अन्तिममा सक्नुपर्ने बाध्यता नै हो, जसले कामको गुणस्तरमा भन्दा बजेट सक्नुपर्नेमा ध्यान लगाइरहेको छ र जहाँ पायो त्यहीँ बजेट बगाइरहेको छ वर्से झरीमा । जुन काम जतिबेला गर्नुपर्ने हो त्यसबेला गरिएन भने त्यसको खास अर्थ हुँदैन । अहिले असारको १५ हो, यो भनेको वर्षाको समय हो । यतिबेला गरेको सडकका कामहरु लामो समयसम्म टिक्न सक्दैन । सडक कालोपत्रे गर्दा एक झर मात्रै पानी वस्र्यो भनेपनि सारा काम बर्बाद हुन्छ । त्यसबाट जोगाउने कुनै उपाय नै छैन भने यसैबेला किन यस्तो काम गरिन्छ र गर्न दिइन्छ ? हिउँदको समयमा गर्नुपर्ने काम असारे १५ मा गरेर यो देशको विकास कहिले सम्भव होला र ?

यस्तो हुनुको मुख्य कारण त हाम्रो मुलुक संक्रमणमा हुनु र यहाँ नीति र शासन व्यवस्था सुदृढ नहुनु हो । अचम्मको लोकतन्त्र आएको हाम्रो मुलुकमा जसले जे गरे पनि हुन्छ भन्ने अहं परिपाटीले गर्दा देशको विकासमा जहिल्यै पनि असर गरिरहेको छ । अर्को कुरा आर्थिक वर्षको अन्तिममा जसरी पनि बजेट सकाउनुपर्ने अवस्थाको अन्त्य गर्नु जरुरी छ, त्यसो गर्दा यो अघिल्लो आर्थिक वर्षमा खर्च नभएको रकम पछिल्लो आर्थिक वर्षमा समाहित गरेर जाने विकल्प उत्तम हुन सक्दछ । सरकारले विकासको लागि तोकेको बजेट खर्च गर्न/गराउन बारम्बार अनुगमन र निरीक्षण गरिरहनुपर्ने व्यवस्थाको पनि खाँचो छ । यदि त्यसो गर्न सकिएन भने पनि आर्थिक वर्षको समयलाई परिवर्तन गरी हिउँद महिनामा सार्न सकियो भने पनि यस्तो समस्याबाट मुक्ति पाउन सकिन्छ । यद्यपि विकासको नाममा मह काढ्नेहरुले हात चाट्ने प्रवृत्तिको अन्त्य भने यसबाट पनि सम्भव छैन । ठेकेदारहरुले खाने कमिशनको विवादका कारण यस्ता कामहरुमा ढिलाई हुने गरेको पाइन्छ । सिमित व्यक्तिहरुले व्यक्तिगत स्वार्थ पूरा गर्ने चक्करमा सँधै आम सर्वसाधारणले भने कहिलेसम्म अनावश्यक दुःख पाइरहने ? यसको जवाफ आम सर्वसाधारणले कहाँबाट कहिले पाउने ?

आर्थिक वर्षको अन्तिममा जसरी पनि बजेट सकाउनुपर्ने अवस्थाको अन्त्य गर्नु जरुरी छ, त्यसो गर्दा यो अघिल्लो आर्थिक वर्षमा खर्च नभएको रकम पछिल्लो आर्थिक वर्षमा समाहित गरेर जाने विकल्प उत्तम हुन सक्दछ । सरकारले विकासको लागि तोकेको बजेट खर्च गर्न÷गराउन बारम्बार अनुगमन र निरीक्षण गरिरहनुपर्ने व्यवस्थाको पनि खाँचो छ ।

Top