गाईको मासु बेचेको आरोपमा दुई युवक पक्राउ

काठमाडौँ, भदौं २० । नवलपरासीमा राष्ट्रिय जनावर गाई काटेर मासु बेचेको अभियोगमा २ युवकलाई प्रहरीले पक्राउ गरेको छ । नवलपरासीको मध्यविन्दु नगरपालिका ९ वसन्तपुरमा स्थानीय बुद्ध बिकले पालेको ३ वर्षको गाई गाउँकै केशब केसी र बुद्ध बिकले सामुदायिक वनमा काटेर गाउँलेलाई बेचेका हुन् । स्थानीय थुम्कीदेवी सामुदायिक वनमा गत शनिबार लुकाएर काटेको गाई उनीहरुले गाउँलेलाई भागबिलो लगाएर बेचेका थिए ।

गाई काटेको ४ दिनपछि बुद्ध र केशवलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो । उनीहरुलाई इलाका प्रहरी कार्यालयमा नियन्त्रणमा राखिएको छ । गाई काटेको जानकारी पाएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

अधिवक्ता हरिनारायण रेग्मीका अनुसार मुलुकी ऐन चौपाया महलमा जानीजानी गाई वा गोरु मारेमा १२ वर्ष कैद र वचन दिनेलाई (आदेश दिनेलाई) ६ वर्ष कैद सजायको व्यवस्था गरेको छ । प्रहरीले उनीहरुलाई धर्म खलबल गरेको अभियोगमा मुद्दा चलाउने जानकारी दियो ।

 

Top