बिजुली यसरी चोरिँदोरहेछ ! अनि किन नहोस् लोडसेडिङ ? प्राधिकरणकै एक दर्जन कर्मचारी पक्राउ परेपछि रहस्य खुल्यो

काठमाडौँ, माघ १०। नेपाल विद्युत् प्राधिकरणकै कर्मचारीको मिलेमतोमा वर्षाैँदेखि ठूला उद्योगहरूलाई निःशुल्क बिजुली दिइँदै आएको खुलेको छ ।  कमिसन लिएर उद्योगीलाई निःशुल्क बिजुली दिँदै आएका प्राधिकरणका १२ कर्मचारी र चार व्यवसायीलाई प्रहरीले आइतबार पक्राउ गरेको छ, नयाँ पत्रिकामा खबर छ ।

Chori

महानगरीय अपराध महशाखाले प्राधिकरणका सुपरभाइजर र मिटररिडरहरूलाई पक्राउ गरेको हो । पक्राउ परेकामध्ये केही कर्मचारी ट्रेड युनियनका नेता हुन् । मनिज श्रेष्ठ कर्मचारी संघको कोषाध्यक्ष हुन् भने दिलबहादुर साउद केन्द्रीय सदस्य । त्यस्तै, महादेव प्रधान कर्मचारी युनियन विद्युत् प्राधिकरण इकाइका सल्लाहकार हुन् । प्राधिकरणका उच्च अधिकारीहरू हेटौंडा गएका बेला प्रधानले आफ्नै घरमा मिटर रिडिङका उपकरण राख्ने गरेका थिए ।

प्रसारण लाइनबाट डाइरेक्ट हुकिङ गर्ने, घरमा राखिएको मिटर रिडिङ गर्न नदिने, पुराना मिटरलगायतका विधिबाट बिजुली चोरी हुने गरेको छ । कतिपय ठाउँमा प्राधिकरणकै कर्मचारीको मिलेमतोमा पनि चोरी हुने गरेको छ । राजनीतिक दबाबका कारण प्रशासनले विद्युत् चोरीमा संलग्न व्यक्तिलाई कारबाही गर्न सकेको थिएन । प्राधिकरणका क्रियाशील ट्रेड युनियनले कर्मचारी सरुवामा हस्तक्षेप गर्दा पनि चोरी नियन्त्रणमा समस्या रहेको प्राधिकरणका कर्मचारीहरू बताउँछन् ।

देशमा ठूलो मात्रामा विद्युत् चोरी हुने गरेको र यसमा प्राधिकरणका कर्मचारीको मिलेमतो रहेको सूचनाका आधारमा प्रहरीले एक महिनादेखि अनुसन्धान सुरु गरेको थियो । मिटर घटाउँदा–घटाउँदैकै भिडियोसमेत खिचेपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । अपराध महाशाखाले काठमाडौंमा मात्र अनुसन्धान गरेको हो । मिलेमतोमा उद्योगको मिटर बिगार्ने काम देशभरि रहेको स्रोत बताउँछ ।

Top