चौपट बन्दै वैदेशिक रोजगार

काठमाडौँ, चैत ११ । वैदेशिक रोजगारी चौपट हुने संकेत देखिन थालेको छ । चालू आर्थिक वर्षको आठ महिनामा औसतमा विदेसिनको संख्या ४५ प्रतिशतले घटिसकेको छ । सरकारको पछिल्लो तथ्यांकले फागुनमा मात्रै विदेसिनेको संख्या गत वर्षको तुलनामा १९.७० प्रतिशतले गिरावट आएको छ । यस कारण वर्ष रेमिटेन्स नघटे पनि अर्को वर्षदेखि प्रत्यक्ष असर देखिनेछ ।

वर्षको आठवटै महिनामा गत वर्षको तुलनामा काम गर्न विदेश जानेको संख्या घटेको छ । साउनदेखि फागुन महिनासम्म लगातार विदेसिने घटे पनि सरकारले कुनै योजना अघि सारेको छैन । आन्तरिक बजारमा रोजगारी सिर्जना गर्ने रणनीति छैन, विदेशमा नयाँ गन्तव्य खोज्ने पहल त झन् कत्ति पनि भएको छैन ।नयाँ गन्तव्य नखोज्ने, पुरानो गुमाउने अनि आन्तरिक बजारमा रोजगारी बढाउने कार्यक्रम नल्याउँदा अर्को वर्षदेखि नै मुलुकभित्र थप बेरोजगारी समस्या चुलिन सक्ने विज्ञको भनाइ छ ।

चालू वर्षको सुरुदेखि नै मलेसियाले कामदार कटौती गर्दा त्यसको नकारात्मक असर समग्र वैदेशिक रोजगार व्यवसायमा देखिएको हो । मलेसियाले पछिल्लो समय विदेशी कामदार लिन बन्द गरेको छ । आफ्नो मुलुकभित्र गैरकानुनी विदेशी कामदार बढेकाले त्यसलाई व्यवस्थापन गर्न भन्दै मलेसियाले यतिबेला विदेशी कामदार रोकेको छ । यसको सबैभन्दा ठूलो मार नेपाली युवालाई परेको छ ।

aaa

नेपालका म्यानपावर कम्पनीले निःशुल्क टिकट र भिसा प्रणालीका कारण वैदेशिक रोजगारीमा समस्या आएको दाबी गरेका छन् । निःशुल्कका कारण विशेषगरी मलेसियाका एजेन्टले कमिसन नपाउने भएकाले नेपाली कामदार कटौती गरेको उनीहरूको दाबी छ । तर, यो आंशिक सत्यमात्र भएको यस क्षेत्रका अध्यताको भनाई छ । नेपालसहित अन्य सबै देशका विदेशी कामदार रोक्नुले हामीले लागू गरेको निःशुल्क टिकट र भिसालाई मात्र दोष दिन नमिल्ने देखिन्छ ।वैदेशिक रोजगारका विज्ञ डा.गणेश गुरूङ सरकारसँग अल्पकालीन, मध्यकालीन र दीर्घकालीन कुनै पनि प्रकारको योजना नहुँदा वैदेशिक रोजगारी चौपटमा पर्न लागेको बताउँछन् । ‘नयाँ गन्तव्य खोजी हुनै सकेन । परम्परागतमात्र सीमित हुँदा एकैपटक समस्या देखिने अवस्था आइपुगेको हो’, उनले भने, ‘आन्तरिक बजारमा रोजगारी बढाउने योजना पनि छैन, बाहिर पठाउन बजार प्रवद्र्धन पनि भएको छैन ।विदेसिने कामदारको हकहित गर्ने र उनीहरूका लागि नयाँ गन्तव्य खोज्ने मुख्य जिम्मेवारी पाएको वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको काम यतिबेला प्रभावहीन देखिएको छ । बोर्डसँग कामदारसँग असुल गरिएको तीन अर्ब रुपैयाँभन्दा बढी पैसा थन्किएर बसेको छ । नयाँ गन्तव्य खोजीको काम बोर्डले गर्न सकेको छैन, उनी भन्छन् । कामदारको पैसामा मन्त्री, सभासद्देखि राजनीतिक दलका कार्यकर्ताले विदेश भ्रमण गरी बजेट दुरुपयोग गर्दैआएका छन् । विगतमा पनि मन्त्री तथा उनीहरूका कार्यकर्ताले गाडी र इन्धनको प्रयोग बोर्डकै रकमबाट गरेका थिए ।

सरकारको पछिल्लो तथ्यांकअनुसार गत वर्ष साउनदेखि फागुनसम्मको आठ महिनाको तुलनामा चालू आवको सोही अवधिमा विदेसिनेको संख्या ८५ हजारले घटिसकेको छ । आठ महिनाको अवधिमा आएको गिरावटको यो आँकडा ठूलो हो । मलेसिया अझै लामो समयसम्म बन्द हुने र सरकारले नयाँ गन्तव्य खोजी नगर्ने हो भने बेरोजगारलाई व्यवस्थापन गर्न सरकारलाई निकै चुनौती हुन सक्ने चेतावनी सरोकारवालाले दिएका छन् ।

वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष बिमल ढकाल अहिलेकै अवस्था कायम रहेमा अर्को वर्षदेखि रेमिटेन्समा भारी गिरावट आई सरकारलाई नै समस्या हुने बताउँछन् । ‘अहिले विदेसिनेको संख्यामात्र घटेको देखिएको छ, रेमिटेन्समा प्रभाव अर्को वर्षदेखिमात्र देखिन थाल्छ’, उनले भने । वैदेशिक रोजगारीको अहिलेको समस्याका बारेमा आफूहरूले श्रम तथा रोजगार मन्त्रीलाई जानकारी गराइसकेको उनले बताए ।

Top